रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आइतबार चीन जाने

रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आइतबार चीन जाने

काठमाडौं।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमणमा जाने भएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको उच्चस्तरीय टोली चीन भ्रमणमा जान लागेको जानकारी दिएका हुन्।

प्रवक्ता खरेलका अनुसार भ्रमणका क्रममा दुई पार्टीबीच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका बहुआयामिक विषयमा गहन छलफल हुनेछ।

दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्।

महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमणमा जाने प्रतिनिधिमण्डलका सदस्यहरूमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा र रमेश कुमार सापकोटा रहेका छन्।

त्यसैगरी, भ्रमण टोलीमा डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापासमेत सहभागी हुने रास्वपाले जनाएको छ।