काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आजको मौसम
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आइतबारको मौसम
आइतबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।