रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

एजेन्सी । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिएका छन् । योसँगै पोर्चुगलको राष्ट्रिय टोलीबाट उनको दुई दशक लामो ऐतिहासिक खेल यात्राको अन्त्य भएको छ । 

४० वर्षीय स्टार खेलाडी रोनाल्डोले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै राष्ट्रिय टोलीबाट आफ्नो सन्न्यासको पुष्टि गरेका हुन् । पोर्चुगलको सिनियर राष्ट्रिय टोलीबाट खेल्दै रोनाल्डोले देशलाई दुई ठुला उपाधि दिलाएका छन् ।

उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिप (युरो कप) र सन् २०१९ मा यूईएफए नेसन्स लिगको उपाधि उचालेको थियो । देशलाई ऐतिहासिक सफलता दिलाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा पोर्चुगललाई एक सशक्त र प्रतिस्पर्धी टोलीका रूपमा स्थापित गर्न उनको भूमिका निर्णायक रह्यो । 

अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाएका रोनाल्डो टोलीका निर्विवादित नेता थिए ।

आफ्नो खेल जीवनमा थुप्रै कीर्तिमान रचेका रोनाल्डोले पोर्चुगलको जर्सीमा विश्वभरका करोडौँ समर्थकहरूको मन जित्नुका साथै विश्व फुटबलमा एक कहिल्यै नमेटिने छाप छोडेका छन् ।