एनपीएलमा सट्टेबाजी गराएको आरोपमा एक युवक पक्राउ

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा एक युवक पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने गराउने गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ। उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।