लुम्बिनी लायन्सको रोमान्चक जित: जनकपुर बोल्ट्स १६ रनले पराजित

लुम्बिनी लायन्सको रोमान्चक जित: जनकपुर बोल्ट्स १६ रनले पराजित

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपिएल) को रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्समाथि १६ रनको उत्कृष्ट जित हात पारेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको मध्यम तर चुनौतीपूर्ण योगफल तयार पारेको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए भने निरोशन डिकवेल्लाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रनको योगदान दिए। जनकपुरका लागि बिशाल सुशलिंग र राहुल यादवले समान २-२ विकेट लिएका थिए।

१५० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो। खराब सुरुवात गरेको जनकपुरले ६५ रन बनाउँदा आफ्ना प्रमुख ७ विकेट गुमाउँदै दबाबमा परेको थियो। तल्लो क्रममा हरमीत सिंहले २० बलमा ३३ रन तथा आदित्य महाताले २४ बलमा नटआउट ३० रन बनाएर जितको प्रयास गरे पनि त्यो पर्याप्त भएन।

लुम्बिनीको बलिङतर्फ डार्सी शर्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्ल र तिलक राज भण्डारीले २-2 विकेट लिँदै टिमको जित सुनिश्चित गरे।