कात्तिक २५ गते भाइटीका : साइत बिहान ११ बजेर ७ मिनेटमा

कात्तिक २५ गते भाइटीका : साइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाडाैं।  यस वर्षको तिहार अर्थात् यमपञ्चक पर्व कात्तिक २० गतेदेखि सुरु हुने भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको पर्वतालिकाअनुसार मुख्य पर्व भाइटीका कात्तिक २५ गते बुधबार परेको छ भने टीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरिएको छ।

समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार पाँच दिनसम्म मनाइने यमपञ्चकको सुरुआत कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदानबाट हुनेछ। त्यसको भोलिपल्ट अर्थात् कात्तिक २१ गते शनिबार काग तिहारका साथै धन्वन्तरि जयन्ती मनाइनेछ।

यस्तै, कात्तिक २२ गते आइतबार एकाबिहानै नरक चतुर्दशी तथा कुकुर तिहार मनाइनेछ भने सोही दिन साँझ ऐश्वर्यकी देवी महालक्ष्मीको पूजाआजा गरी लक्ष्मीपूजा पर्व मनाइनेछ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ।

कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र नेवार समुदायको म्हपूजा पर्व परेको छ। सोही दिनदेखि नयाँ वर्षका रूपमा नेपाल संवत् ११४७ समेत प्रारम्भ हुनेछ।

यमपञ्चकको अन्तिम तथा मुख्य दिन कात्तिक २५ गते यमद्वितीया अर्थात् भाइटीका परेको छ। दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गरी सप्तरङ्गी टीका लगाइदिने यस दिन राज्यभर हर्षोल्लासका साथ भाइटीका मनाइन्छ।

भाइटीकाका लागि समितिले निर्धारण गरेको बिहान ११:०७ बजेको साइत उत्तम भए पनि सर्वसाधारणका लागि दिनभरिनै टीका लगाउन कुनै बाधा नरहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।