काठमाडौँ । पछिल्लो एक महिना अवधिमा ब्रोइलर कुखुराको मूल्य निरन्तर ओरालो लागेको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार आज मंगलबारदेखि लागु हुने गरी जिउँदो ब्रोइलर कुखुराको खरिद मूल्यमा थप प्रतिकिलो १० रुपैयाँले गिरावट आएको छ ।
नयाँ निर्णयसँगै जिउँदो कुखुराको कोल्डस्टोर खरिद मूल्य घटेर प्रतिलो २ सय ५० रुपैयाँ कायम भएको छ । खरिद मूल्य घटेसँगै संघले काठमाडौं उपत्यकाभित्र उपभोक्ताका लागि ब्रोइलर कुखुराको तयारी मासुको खुद्रा बिक्री मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ निर्धारण गरेको छ । यसअघि खुद्रामा कुखुरा मासु प्रतिकिलो मूल्य ३ सय ८५ रुपैयाँ कायम थियो ।
प्राप्त तथ्यांक अनुसार पछिल्लो एक महिना अवधिमा मात्रै जिउँदो कुखुराको मूल्य पाँच पटकसम्म घटेको छ । १६ असोजमा प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको जिउँदो कुखुराको खरिद मूल्य ९ कात्तिकमा घटेर २ सय ८० रुपैयाँ कायम भएको थियो ।
फेरि ११ कात्तिकमा २ सय ७० र १३ कात्तिकमा २ सय ६० रुपैयाँ कायम भएको मूल्य १७ कात्तिकमा पुन: १० रुपैयाँ घटेर २ सय ५० मा झरेको हो । यसरी हेर्दा १६ असोजदेखि कात्तिक १७ सम्म आइपुग्दा पाँच चरणमा जिउँदो कुखुराको खरिद मूल्य प्रतिकिलो कुल ४० रुपैयाँले सस्तो भएको छ ।
छोटो समयमै खरिद मूल्यमा आएको यस निरन्तरको गिरावटले उपभोक्तालाई राहत मिले पनि कुखुरापालक किसानले भने दाना, चल्ला, औषधि र ढुवानी लागत निरन्तर बढिरहेको समयमा आफ्नो उत्पादन बिक्री गर्दा प्राप्त गर्ने आम्दानीमा कमी आउँदा ठूलो आर्थिक दबाब परेको बताएका छन् ।