डोल्पा कारागार जेलब्रेक गरी भागेका दुई कैदीबन्दी पक्राउ

डोल्पा कारागार जेलब्रेक गरी भागेका दुई कैदीबन्दी पक्राउ

सुर्खेत । शुक्रबार राति डोल्पा जिल्ला कारागारमा सुरुङ खनेर भागेका ८ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी सन्तोषसिंह राठौरका अनुसार, जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना रहेका छन् ।

दुई जनालाई मंगलबार बिहान साढे १० बजेतिर आठबिसकोट नगरपालिका–६ दामाचौरस्थितको. खोली बगरबाटदेखि वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको क.प्र. ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप पक्राउ गरिएको हो ।

‘चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू भाग्न खोजेका रहेछन,’ राठौरले रातोपाटीसँग भने, ‘प्रहरी टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा फरार कैदी रहेछन् ,’
पहिचान भएपश्चात उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी चौकी गोतामकोटमा राखिएको उनले बताए ।

उनका अनुसार, चौरजहारी बेस क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा ५ जनाको प्रहरी टोली कैदीबन्दीहरूको खोजतलासका लागि खटिएको थियो ।

अन्य कैदीबन्दीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।