काठमाडौँ । बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरिसकेको छ। त्यहाँ हुरी तथा वर्षा सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतको मौसम विभागका अनुसार उक्त चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बिचमा अवतरण भएको थियो।
अहिले त्यसले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको छ। आन्ध्रका तटीय क्षेत्रहरूमा १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ। आन्ध्र प्रदेशका तीन विमानस्थलमा १९ उडान रद्द गरिएका छन्। चेन्नई विमानस्थलमा पनि एघार उडान रद्द गरिएका छन्। पाँच राज्यमा ३७ वटा एनडीआरएफ टोली खटाइएको छ, जसमध्ये १३ वटा आन्ध्र प्रदेशमा छन्।
ओडिसा सरकारले गंजम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाहरूबाट १.६ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ। तर त्यसले नेपालमा खासै प्रभाव नपार्ने नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले त्यस चक्रवातको प्रभावले नेपालमा माथिल्लो वायुमण्डलमा बादल ल्याउने सम्भावना देखिए पनि वर्षा वा हिमपात गराउने सम्भावना भने नरहेको बताए।
त्यसको खासै प्रभाव पर्दैन यद्यपि माथिल्लो वायुमण्डलमा हल्का किसिमको बादल लिएर आउन सक्छ उनले मंगलबार बिहान नेपालखबरसँग भने अरु खासै प्रभाव पर्ने देखिँदैन।
आगामी दिनमा पनि त्यसको प्रभाव पर्दै पर्दैन कि पर्ने सम्भावना छ?
नेपालखबरको जिज्ञासामा उनले भने, ‘यसले वर्षाका गतिविधि बढाउने वा वर्षा गराउने सम्भावना देखिँदैन। यद्यपि अघि मैले भनेँ नि- माथिल्लो वायुमण्डलमा बादल ल्याउने देखिन्छ। यो पनि आजका लागि देखिँदैन। भोलिका लागि हल्का बादल आउने देखिन्छ। तर त्यसकै प्रभावले असर गर्ने पानी पर्ने नेपाली भूभागहरूमा कतै पनि सम्भावना देखिँदैन।’
यसअघि आइतबार साँझ पनि मौसम महाशाखाले गत ‘चक्रवात मुरासु विशेष मौसम बुलेटिन’ जारी गरी भनेको थियो, ‘हालसम्मको विश्लेषणअनुसार उक्त मौसम प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन। नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ।’