काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे यी दुई टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ।
विगतका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित हात पार्दै सुखद सुरुवात गर्ने रणनीतिमा छ। राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले यसअघि प्लेअफसम्म पुग्न नसकेको इतिहासलाई बदल्दै उपाधि यात्रा तय गर्ने लक्ष्य राखेको छ।
अर्कातर्फ, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स प्रतियोगिताको पहिलो खेलमा व्यहोरेको हारलाई बिर्सिएर पुनरागमन गर्ने योजनामा छ। अघिल्ला दुई संस्करणमा लगातार फाइनल पुगेर पनि उपाधिबाट चुकेको सुदूरपश्चिम यसपटक जसरी पनि ट्रफी उचाल्ने दाउमा छ।
कात्तिक ९ गतेदेखि सुरु भएको यस प्रतियोगितामा आठ वटा टोलीहरू प्रतिस्पर्धामा छन्। प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते हुनेछ।