काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मङ्गलबार) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको हो।
सुरुवाती ओभरहरूमा लगातार विकेट गुमाएर संकटमा परेको कर्णालीको पारीलाई आरिफुल इस्लाम र पवन सर्राफले सम्हालेका थिए। आरिफुलले २९ बलमा ४ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए भने पवन सर्राफले ३७ बलमा ३ छक्का प्रहार गर्दै ३७ रन बनाए।
यसअघि मध्यक्रमका ब्याटरहरू गुलशन झा (१२ रन) र अबकर अलि हरमित सिंहको बलमा एलबीडब्ल्यू आउट भएपछि कर्णाली १५.२ ओभरमा १०३ रन बनाउँदा ६ विकेटको नाजुक स्थितिमा पुगेको थियो। जनकपुर बोल्ट्सका बलर हरमित सिंहसहितका बलरहरूले अनुशासित बलिङ गर्दै कर्णालीलाई ठूलो स्कोर बनाउनबाट रोकेका हुन्।
अब जनकपुर बोल्ट्सले केही बेरमा १३३ रनको विजयी लक्ष्य पछ्याउँदै आफ्नो जवाफी ब्याटिङ सुरु गर्नेछ।