विराटनगरविरुद्ध चितवनको उत्कृष्ट सुरुआत

विराटनगरविरुद्ध चितवनको उत्कृष्ट सुरुआत

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको चितवनले विराटनगरविरुद्ध सुरुआती ६ ओभरमा विकेट नगुमाई ५० रन बनाएको छ । 

हाल क्रिजमा रहेका ओपनरद्वय डेविड मलान र देव खनालले क्रमशः ३९ र आठ रन बनाएका छन् । दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् । पहिलो सिजनमा लिग चरणमै सीमित भएको विराटनगरले दोस्रो सिजनमा भने प्लेअफसम्मको यात्रा तय गरेको थियो । 

यता, पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा लिग चरणबाट अगाडि बढ्न सकेको थिएन । सोमबारबाट सुरु भएको यो प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो ।