एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू हुँदैछन्।

प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। पहिलो दिन एउटा मात्र खेल भएकोमा आजदेखि भने दिनमा दुईवटा खेल हुनेछन्।

आज हुने पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिने विराटनगर किंग्सको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया लगायतका स्वदेशी प्रतिभावान खेलाडीहरू रहेका छन्। यसका साथै विदेशी स्टार खेलाडीहरू इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने र चरिथ असलंकाले टोलीलाई थप बलियो बनाएका छन्।

विराटनगरविरुद्ध उभिने चितवन राइनोजको कमान कुशल मल्लको हातमा रहेको छ। चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, विवेक यादव, मौसम ढकाल, विपिन रावल, गौतम केसी लगायतका खेलाडी छन् भने रवि बोपारा, सिकन्दर राजा, कलिम साना, हसन अली, सलाहुद्दिन खान र उसामा मीर जस्ता अनुभवी तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विदेशी खेलाडीहरू समावेश छन्।

त्यस्तै, आजै साँझ ५:०० बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सको टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दास, अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम र सन्तोष कार्की समेटिएका छन्। त्यस्तै, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमदजस्ता कीर्तिमानी विदेशी खेलाडीहरू पनि जनकपुरको टिममा रहेका छन्।

जनकपुरविरुद्ध मैदानमा उत्रिने कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले गरेका छन्। यस टिममा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुन जस्ता खेलाडीहरू समावेश छन्।

सोमबारदेखि सुरु भएको एनपीएलको समूह चरणका खेलहरू आगामी कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपश्चात मङ्सिर १ गते पहिलो र दोस्रो स्थानका टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ भने मङ्सिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ। यसैगरी, मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित हुने टोली र इलिमिनेटरमा विजयी हुने टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ भने मङ्सिर ५ गते फाइनल महाभिडन्त तय गरिएको छ।