विश्व कीर्तिमानी बलर शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा

विश्व कीर्तिमानी बलर शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा

काठमाडौं। पाकिस्तानका विश्व कीर्तिमानी तीव्र गतिका बलर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला पुगेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल चलिरहँदा पूर्व क्रिकेटर अख्तरले रंगशालामै उपस्थित भएर खेल अवलोकन गरेका हुन्।

पहिलो इनिङ्सको समाप्तिपछि अख्तरले मैदानमा पुगेर दर्शकहरूलाई अभिवादन गरेका थिए। जारी एनपीएलमा पाकिस्तानी खेलाडीहरूको पनि सहभागिता रहेको छ, जसअन्तर्गत आजको यसै खेलमा पाकिस्तानका हुसेन तलातले कर्णाली याक्सबाट खेलिरहेका छन्।

क्रिकेट इतिहासमा आफ्नो अत्यधिक गतिका लागि परिचित अख्तरले सन् २००३ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै विश्व कीर्तिमान कायम गरेका थिए, जुन कीर्तिमान हालसम्म पनि कसैले तोड्न सकेको छैन। उनले सन् १९९७ मा पाकिस्तानका लागि टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए भने त्यसको तीन महिनापछि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

सक्रिय खेल जीवनबाट सन्यास लिइसकेपछि उनी आफ्नै युट्युब च्यानलमार्फत क्रिकेट समीक्षा गर्दै आएका छन्। हाल उनी एनपीएलको विशेष समीक्षाका लागि नै नेपाल आएका हुन्।