ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौँ ।  रुकुम पश्चिममा  ढुंगा  प्रहारबाट एक ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको  ढुंगा  प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५:३० बजे घरनजिकैको बाटोमा खेलिरहेका रमेशलाई सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि टाउकोमा  ढुंगाले प्रहार गरेका थिए। भक्तबहादुरको मानसिक अवस्था ठीक नरहेको बताइएको छ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्थानीय पिपल स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएकोमा उपचारकै क्रममा राति १०:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

 ढुंगा  प्रहार गर्ने भक्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।