काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिलो औपचारिक विदेश भ्रमण भारत हुने भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका गए पनि उनले त्यसलाई अनौपचारिक भ्रमण मानेका थिए। सोही कारण उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ नलिएको बताइएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मङ्गलबार प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गर्दै भारत भ्रमणको मिति तय गरेका हुन्। श्रीवास्तव आफ्नो चार वर्ष तीन महिनाको कार्यकाल पूरा गरी बिहीबार नयाँ दिल्ली फर्कँदैछन्। स्वदेश फर्किनुअघि उनले प्रधानमन्त्री शाहका लागि मंसिर ७ र ८ गते भारत भ्रमणको मिति प्रस्ताव गरेर भ्रमणको खाका तय गरेका हुन्।
‘उहाँको कार्यकालमा प्रधानमन्त्रीको भ्रमण तय भयो। चाँडै भारतबाट नयाँ राजदूत नेपाल आउनेछन् र उहाँ भ्रमणको थप तयारीमा लाग्नुहुनेछ,’ भारतीय दूतावास स्रोतले भन्यो। नयाँ राजदूत दिल्ली पुगेपछि मंसिर ७ र ८ गतेको मितिलाई भारत सरकारले औपचारिक स्वीकृत दिने र त्यसपछि दुवै देशका परराष्ट्र मन्त्रालयले औपचारिक विज्ञप्ति जारी गर्ने तयारी छ।
यसअघि रास्वपा सभापति रवि लामिछाने गत असारमा भारतको औपचारिक भ्रमणमा गएका थिए, जहाँ उनलाई नयाँ दिल्लीले भव्य स्वागत गरेको थियो। त्यसयता भारतले बालेनभन्दा रविलाई बढी महत्त्व दिएको चर्चा चलिरहेका बेला बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन गोप्य रूपमा नयाँ दिल्ली पुगेको चर्चासमेत चलेको थियो।
यसैबीच, संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई बुधबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने जानकारी दिए। वर्तमान सरकार गठन भएलगत्तै भारतबाट भ्रमणको निम्तो आएको र दुवै पक्ष उपयुक्त समय तय गर्न लागिपरेको मन्त्री खनालले बताए।