मनाङ। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।
समुद्र सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ र पोखरालगायतका गन्तव्यमा पुग्ने योजना बनाएका पर्यटकहरू मौसममा आएको खराबी र सम्भावित जोखिमका कारण मनाङबाटै फर्किन बाध्य भएका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार असोज ६ देखि १२ गतेसम्मको अवधिमा २४६ जना विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन्। यसरी फर्किनेहरूमा १५१ पुरुष र ९५ महिला रहेका छन्।
केही दिनअघिसम्म धारापानी जाँचचौकी हुँदै दैनिक १०० देखि १५० जनासम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए। तर पछिल्लो समय वर्षा र बाटोको जोखिमका कारण पर्यटकको आवागमन ह्वात्तै घटेको छ। अहिले दैनिक एक-दुई जना मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांशले यात्रा बीचमै रोकेर फिर्ता हुने बाटो रोजेका छन्।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीलाई जोड्ने नेपालको प्रमुख तथा लोकप्रिय पर्यटकीय पदमार्ग हो। प्राकृतिक र सांस्कृतिक विविधताका कारण विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने यो पदमार्ग मौसमको जोखिमका कारण अहिले प्रभावित बनेको छ।