नेपालमा सुरु भयो शक्तिशाली बंगाल प्रणालीको प्रभाव, यी प्रदेशमा अति भारी वर्षा

नेपालमा सुरु भयो शक्तिशाली बंगाल प्रणालीको प्रभाव, यी प्रदेशमा अति भारी वर्षा

काठमाडौँ । बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र हाल गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा परिणत भएको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभाव आज (बुधबार) देखि नेपालमा पनि आंशिक रूपमा परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए। आज बिहानैदेखि काठमाडौँ उपत्यकामा भइरहेको मौसम बदली र वर्षामा पनि मनसुनसँगै बंगाल प्रणालीको प्रभाव पनि मिसिएको उनको भनाइ छ। 

मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना देखिएको छ। ‘तर एक-दुई स्थानमा भारी वर्षा पनि हुने आकलन छ’, उनले बुधबार बिहान नेपालखबरसँग भने।  मौसम पूर्वानुमान महाशाखाले आज बिहान अपडेट गरेको बुलेटिनअनुसार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागको केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी आज राति कोसी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेशको तराई भूभागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, बागमती प्रदेशका पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

छुटाउनुभयो कि ?