काठमाडौँ । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । इन्द्रजात्राको सुरुआतसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको छ ।
इन्द्रजात्राको मुख्य सुरुआती विधिका रूपमा लिंगो उठाएपछि जात्राका विभिन्न कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने गर्छन् । लिंगो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरिएको छ ।
इन्द्रजात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यस अवसरमा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ । हनुमानढोका दरबार क्षेत्र आसपासमा विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु तथा सर्वसाधारणको भीड लाग्ने गर्छ ।
जात्राका क्रममा हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौंका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ । जात्रामा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत गरिन्छ ।
इन्द्रजात्राको अवसरमा हनुमानढोका तथा आसपासका क्षेत्रमा विशेष चहलपहल बढेको छ । स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत जात्राका विभिन्न गतिविधि अवलोकन गर्न काठमाडौंको बसन्तपुर क्षेत्रमा पुगेका छन् ।