काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई आदेश बुझेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहालको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न भनेको छ ।
साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ । दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।