लिस्बन, पोर्चुगल । नेपालमा हालै गएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको सहयोगार्थ नेप्लिज वुमन एसोसिएसन पोर्चुगलले रु. १ लाख ५१ हजार १५१ सहयोग गरेको छ।
एसोसिएसनले सेप्टेम्बर १३ मा लिस्बनस्थित मार्टिम मोनिज पार्कमा दीप प्रज्वलन तथा सहयोग संकलन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सङ्कलित रु. ६० हजारमा संघका कार्यसमिति सदस्य तथा सहयोगी मनहरूबाट थप रकम संकलन गरी कुल रु. १ लाख ५१ हजार १५१ पुर्याइएको संघले जनाएको छ।
सङ्कलित रकम बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
रकम सहयोगबारे जानकारी गराउन एसोसिएसनकी अध्यक्ष गीता रेउलेको नेतृत्वमा कार्यसमितिका पदाधिकारीहरूले पोर्चुगलस्थित नेपाली राजदूतावासमा पुगेर राजदूत प्रकाश मणि पौडेल र प्रथम सचिव रामबाबु नेपालसँग भेट गरेका थिए।
एसोसिएसनका अनुसार यस वर्षको तीजमा हुने व्यक्तिगत खर्च, साडी–कुर्ता तथा गरगहनामा हुने खर्चसमेत कटौती गर्दै पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
नेपाल दुःखेको बेला हामी पनि साथमा छौँ’ भन्ने भावनाका साथ गरिएको सहयोगमा पोर्चुगलमा रहेका नेपाली समुदायको सहभागिता रहेको एसोसिएसनले जनाएको छ।
अध्यक्ष रेउलेले सहयोग रकम आर्थिक रूपमा ठूलो नभए पनि यससँग जोडिएको मानवीय भावना महत्वपूर्ण रहेको बताइन्।
“हाम्रो सहयोग सानो हुन सक्छ, तर यसमा जोडिएको भावना ठूलो छ। पीडित परिवारको कठिन घडीमा एक छाक टार्न, शरीर ढाक्न एक जोर कपडा जुटाउन र आशाको सानो दीप बाल्न सहयोग पुगोस् भन्ने हाम्रो कामना हो,” एसोसिएसनले जनाएको छ।
एसोसिएसनले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरू, कार्यसमिति सदस्य तथा नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ।
यसैगरी, अभियानबारे जानकारी गराउने अवसर प्रदान गरेकोमा नेपाली राजदूतावास लिस्बनका राजदूत प्रकाश मणि पौडेल तथा प्रथम सचिव रामबाबु नेपालप्रति पनि संघले विशेष धन्यवाद व्यक्त गरेको छ।
एसोसिएसन पोर्चुगलकी अध्यक्ष गीता रेउलेले विपत्तिको समयमा प्रवासमा रहेका नेपालीहरूले आफ्नो क्षमता र परिस्थितिअनुसार मातृभूमिका पीडित नागरिकसँग ऐक्यबद्धता जनाउनु मानवीय दायित्व भएको बताएकी छन्।