पूँजी बजारलाई सरकारको उपहार: सेयर बिक्रीमा लाग्ने लाभकरको दर घटाइयो

पूँजी बजारलाई सरकारको उपहार: सेयर बिक्रीमा लाग्ने लाभकरको दर घटाइयो

काठमाडौं। नेपाल सरकारले धितोपत्र बजारमा सूचीकृत सेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभकरको दरमा उल्लेख्य कटौती गरेको छ।

अर्थ मन्त्रालयले नेपाल राजपत्रमा औपचारिक सूचना प्रकाशित गर्दै आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम प्राप्त अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ कर दर कायम गरिएको जानकारी दिएको हो।

राजपत्रमा प्रकाशित सूचना अनुसार अब धितोपत्र विनिमय बजारमा सूचीकृत निकायको हित वा सेयर बिक्री गर्दा बासिन्दा प्राकृतिक व्यक्तिले बुझाउनुपर्ने लाभकरको दर घटाइएको छ।

नयाँ व्यवस्था अनुसार कुनै पनि लगानीकर्ताले ३६५ दिनभन्दा बढी अवधि आफ्नो स्वामित्वमा राखेको सेयर बिक्री गर्दा प्राप्त हुने लाभ रकममा ३.७५ प्रतिशत मात्र कर तिरे पुग्नेछ। त्यसैगरी, ३६५ दिन वा सोभन्दा कम अवधि अर्थात् अल्पकालीन रूपमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्दा प्राप्त हुने लाभ रकममा ५ प्रतिशत कर कायम गरिएको छ।

अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायका अनुसार आयकर ऐन, २०५८ को दफा ९५क. को उपदफा (२) को खण्ड (क) तथा अनुसूची-१ मा रहेका साविकका प्रावधानहरूलाई संशोधन गर्दै यो नयाँ व्यवस्था लागु गरिएको हो।

सरकारको यो निर्णयबाट सेयर बजारका आम लगानीकर्ताहरूलाई करमा ठूलो राहत पुग्ने र यसले पूँजी बजारमा नयाँ लगानी प्रवर्धन गर्न तथा बजारलाई थप चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?