दमौली (तनहुँ)। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको कानुनी स्वीकृति प्राप्त भएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत जिल्लामा पर्ने रुखहरूको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै १७ वटा सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ।
प्रसारण लाइन क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिकामा छ र व्यास नगरपालिकामा छ वटा सामुदायिक वन रहेका छन्। चितवनतर्फ भने रुख कटानको कार्य जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो।
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी 'केइसी इन्टरनेसनल लिमिटेड' भारतले हालसम्म ८३ वटा टावरको जग हाल्ने तथा ७८ वटा टावर जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ।
आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ। रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ।
आयोजनाको निर्माण कार्य तीनवटा प्याकेजमा भइरहेको छ। प्याकेज–१ अन्तर्गत बाँधलगायतका मुख्य संरचना निर्माणका लागि 'सोङ्दा कालिका जेभी' मार्फत् काम भइरहेको छ, जसको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ।
यसैगरी, प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू जडानको काम चीनको 'सिनो हाइड्रो कर्पोरेसन'ले गरिरहेको छ। यो प्याकेजमा ७९ प्रतिशत प्रगति रहेको छ। तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति भने हालसम्म ७८ प्रतिशत पुगेको जनाइएको छ।