काठमाडौँ । नाइजेरियामा सुरक्षा निकायको हिरासतमा रहेका कम्तीमा ३७ जना अवैध खानी मजदुरको मृत्यु भएको छ । नाइजेरियाको उत्तर–मध्यमा पर्ने नाइजर राज्यका गभर्नरका अनुसार, नाइजेरियाली सुरक्षा तथा नागरिक प्रतिरक्षा निकायको हिरासतमा र मृत्यु भएको हो ।
“मिन्नामा सिभिल डिफेन्सको हिरासतमा करिब ३७ जनाको मृत्यु भएको खबर पाएर हामी उठेका छौँ,” राज्यको राजधानीमा गभर्नर मोहम्मद उमर बागोनले पत्रकारहरूसँग भने ।
उनले घटनालाई दुःखद र विपद्पूर्ण भन्दै मृत्युको छानबिनका लागि एउटा समिति गठन भइसकेको छ । समितिले काम सुरु गरिसकेको बताए । गभर्नरले तीन दिनको शोक घोषणा गरेका छन् । साथै, आगामी जनवरीमा हुने निर्वाचनको प्रचारप्रसार सुरु गर्ने कार्यक्रम समेत स्थगित गरेको बताए ।
नाइजर राज्य प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको घोषणा गर्दै पीडितका आफन्तहरूलाई सहयोग पुग्ने कुनै पनि जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ । नाइजरस्थित एनएससीडीसीका प्रमुख सुबेरु सियाका अनिविएले बिहीबार जारी गरेको वक्तव्यअनुसार राज्यमा गैरकानुनी खानी उत्खनन गरेको आशंकामा मंगलबार र बुधबार सुरक्षा निकायले पक्राउ गरेदेखि नै ती व्यक्तिहरूलाई हिरासतमा राखिएको थियो ।