काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको प्राकृतिक विपद्को कठिन परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि हार्दिक आभार व्यक्त गरे।
जवाफमा राजदूत तोरुले विपद्का कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संवेदना प्रकट गर्नुभयो। साथै उहाँले आगामी दिनमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका कार्यहरूमा नेपाललाई आवश्यक सहयोग पुर्याउन जापान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उक्त भेटवार्ताका क्रममा नेपाल र जापानबीच लामो समयदेखि रहँदै आएको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका साथै आपसी सहकार्यका विविध आयामहरूका विषयमा समेत सकारात्मक छलफल भएको छ।