प्रधानमन्त्री राहत कोषमा साढे १३ अर्बभन्दा बढी मौज्दात, विपद् प्राधिकरणलाई एक अर्ब निकासा

प्रधानमन्त्री राहत कोषमा साढे १३ अर्बभन्दा बढी मौज्दात, विपद् प्राधिकरणलाई एक अर्ब निकासा

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रयोग हुने प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको उक्त रकममध्ये देशका नौ वटा वाणिज्य बैंकमा १० अर्ब ८ करोड ४३ लाख रुपैयाँ स्वदेशी मुद्रामा र दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर विदेशी मुद्रामा जम्मा रहेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यलाई तीव्रता दिन कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

यसैबिच, प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलका क्रममा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनाका लागि सरकारका तर्फबाट स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।