काठमाडौँ। मेडिकल व्यवसायी एवं 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान'का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक प्रसाईंले आफूलाई देश वा कसैको घर जलाउने जस्ता अराजक राजनीतिमा कुनै रुचि नरहेको स्पष्ट पारे। "मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन, देश र सिंहदरबार जलाउनु पनि छैन। म अर्काको घर जलाउन जान्दिनँ। तिमीहरूले यत्रो विध्वंस गरेर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुने थियो," उनले भने।
देशको वर्तमान राजनीतिक संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाबिना राष्ट्रियताको रक्षा हुन नसक्ने दाबी गरे। आफूलाई कसैले बाह्य शक्ति वा अन्य संस्थासँग जोडेर भ्रम फैलाउन खोजेको भन्दै उनले त्यसको खण्डनसमेत गरे। वर्तमान नेतृत्वको अदूरदर्शी नीतिका कारण मुलुकको अर्थतन्त्र तहसनहस बनेको र युवाहरू बिदेसिन बाध्य भएको उनको भनाइ थियो।
प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ थुप्रिए पनि सरकारसँग स्पष्ट भिजन र शान्ति-सुरक्षाको वातावरण नहुँदा आन्तरिक तथा बाह्य लगानी आउन नसकेको बताए। मुलुकको समसामयिक राजनीतिक मुद्दामा टिप्पणी गर्दै उनले जनताले अब वर्तमान शासकहरूको विकल्प खोज्ने बेला आइसकेको उल्लेख गरे।