भोटेकोसी बाढी : एक हजार ३८६ जनाको मृत्यु, बेपत्ताको सूची नै गोलमाल

भोटेकोसी बाढी : एक हजार ३८६ जनाको मृत्यु, बेपत्ताको सूची नै गोलमाल

काठमाडौं । भोटेकोसीको विनाशकारी बाढी आएको १९ दिन पुगेको छ । भदौ १० गते बिहान भोटेकोसीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो । ल्हेन्दे खोलाको मुहानमै बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसमेत प्रभावित भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परेर एक हजार ३८६ जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार मानवअंगसहित मृतकको संख्या एक हजार ३८६ जना पुगेको हो ।  जसमा ३३४ महिला, ५४२ पुरुष र ५१० जनाको आंशिक अंगमात्रै फेला परेको छ ।  बाढीमा परेकाहरुको शव रसुवा, नुवाकोटदेखि नवलपरासीसम्म फेला परिरहेका छन् ।

हालसम्म सबैभन्दा धेरै शव चितवन र नवलपरासीमा फेला परेका छन् ।  चितवनमा ३६४ जनाको शव फेला परेको छ । यसरी नै नवलपरासी पूर्व २२९ शव, पश्चिम नवलपरासीमा २२२ शव फेला परेको छ । बेपत्ताको सूचीमा पाँच हजार १३० जना छन् । बाढीमा परेर ३३९ जना घाइते भएका थिए । घाइतेहरुमध्ये २६९ जना डिस्चार्ज भइसकेका छन् । 

बाँकी ७० जनाको उपत्यकाका विभिन्न १९ वटा अस्पतालमाा उपचार भइरहेको छ । १३ हजार ८२८ जनाको उद्धार भएको छ । बाढी प्रभावितका लागि सरकारले ३७ वटा होल्डिङ सेन्टर बनाएको छ ।

नुवाकोटको होल्डिङ सेन्टरमा दुई हजार ५८७ जना, रसुवाको होल्डिङ सेन्टरमा ८३९ र धादिङको होल्डिङ सेन्टरहरुमा ३३५ जना राखिएको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको हालसम्मको तथ्यांक अनुसार भोटेकोसीको बाढीका कारण कुल ३२ हजार ९३६ जना प्रभावित भएका छन् ।  बाढीका कारण सबैभन्दा बढी प्रभावित नुवाकोटका दुईवटा पालिका, रसुवाको एउटा र धादिङको एक गरी चार वटा पालिका प्रभावित भएका छन् ।

नुवाकोटको विदुर नगरपालिका र किस्पाङ गाउँपालिका यसरी नै रसुवाको गोसाईंकुन्ड गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रभावित भएको छ । 

भोटेकोसी नदी त्रिशूलीमा मिसिएसँगै नुवाकोट, धादिङ, गोरखा र चितवनसमेत प्रभावित भएका हुन् । बाढीले ६८ वटा झोलुङ्गे पुल, ३७ वटा मोटरेबल पुल बगाएको थियो । बाढी प्रभावित क्षेत्रको निर्माणका लागि ७२३ अर्ब खर्च लाग्ने सरकारीको अनुमान छ ।


बाढीमा परेकाहरुको मृतको सख्या एउटै देखिए पनि बेपत्ताको संख्या भने फरक–फरक देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको हालसम्मको तथ्यांकले बेपत्ताको सूचीमा पाँच हजार १३० जना छन् ।

तर, नेपाल प्रहरीको आइतबार १२ बजेसम्मको सूचीमा मृतकको संख्यामा समान देखिए पनि बेपत्ताको सूचीमा भने कम देखिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार वेपत्ताको सूचीमा चारहजार ८९ जना मात्रै छन् ।

यो भनेको प्राधिकरणको संख्याको तुलनामा एक हजार ४१ जना कम हो ।