२४० जना सवार यात्रुवाहक जहाज बेपत्ता

२४० जना सवार यात्रुवाहक जहाज बेपत्ता

काठमाडौँ । २४० जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आइतबार इन्डोनेसियामा बेपत्ता भएको छ। सीएनएनका अनुसार जाभा सागरमा जहाजको सम्पर्क टुटेको हो। भर्जो ट्रान्सपोर्ट ८ नामको यो जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले खोजी अभियान सुरु गरेका छन्।

बन्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार आफ्नो यात्राका क्रममा सञ्चार प्रणाली अवरुद्ध भयो र त्यसपछि सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूका अनुसार जहाजको अन्तिम लोकेसन जाभा सागरको बन्जारमासिनको घाटबाट लगभग १४८ किलोमिटर टाढा रहेको संकेत पाइएको छ।

इन्डोनेसियाले जहाजका ठुलठुला दुर्घटना  भोगेको छ। सन् १९८१ मा ट्याम्पोमास-२ यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा ४३० जनाको मृत्यु भएको थियो। यस्तै २००६ मा सेनोपति नुसान्तारा यात्रुवाहक डुंगा खराब मौसमका कारण जाभा सागरमा डुब्दा ४०० भन्दा बढी मानिस मरे वा बेपत्ता भए।

यसैगरी सन् २००७ मा लेभिना-१ फेरीमा आगलागी हुँदा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो। सन् २०१८ मा लेस्टारी माजु फेरी दक्षिण सुलावेसीमा डुब्दा ३६ जनाको मृत्यु भएको थियो।