काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारकार्यका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई निर्देशनसहित बिदाइ गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष ओलीले टोलीलाई बिदाइ गर्दै विपद् प्रभावित क्षेत्रमा तत्काल पुगेर स्थानीय वस्तुस्थिति बुझ्न, पीडितहरूलाई आवश्यक राहत सामग्री पुर्याउन र उद्धारकार्यमा सक्रियताका साथ खटिन निर्देशन दिए।
उनले बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल सहयोग पुर्याउन स्थानीय तह, जिल्ला प्रशासन तथा सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय गरी उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गरे।
विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका नागरिकहरूका लागि एमालेले आफ्ना विभिन्न कमिटी तथा तहहरूमार्फत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।