बाढीले रसुवाको अस्तित्व नै संकटमा पार्यो, एउटा पुस्ता नै सखाप भयो: कुलमान घिसिङ

बाढीले रसुवाको अस्तित्व नै संकटमा पार्यो, एउटा पुस्ता नै सखाप भयो: कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लावासीको जीवनयापनको मुख्य आधार नै पूर्ण रूपमा समाप्त पारिदिएको बताएका छन्। शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले बाढीले रसुवाको सामाजिक, आर्थिक तथा मानवीय संरचनामा अपूरणीय क्षति पुर्‍याएको उल्लेख गरे।

विपत्का कारण रसुवाको विकास २० देखि ३० वर्ष पछाडि धकेलिएको र एउटा सिङ्गो पुस्ता नै प्रभावित बनेको उनको भनाइ छ। पछिल्लो समय पर्यटन तथा व्यापारको मुख्य केन्द्रका रूपमा उदाइरहेको रसुवामा रोजगारीका लागि विभिन्न जिल्लाबाट नागरिकहरू पुग्ने गरे पनि बाढीले त्यो सबै सम्भावना ध्वस्त बनाएको घिसिङले बताए।

"मैले यति ठूलो विपद् जीवनमा देखेको थिइनँ," घिसिङले भने, "सामाजिक पाटोबाट हेर्दा यो विपद्ले रसुवालाई दशकौँ पछाडि धकेलेको छ। चिलिमे जलविद्युत् आयोजना निर्माण हुनुअघि रसुवा जुन अवस्थामा थियो, बाढीले पुनः त्यही स्थितिमा पुर्‍याएको महसुस मलाई भएको छ।"

घिसिङका अनुसार बाढीका कारण रसुवाको दक्ष प्राविधिक जनशक्तिमा समेत ठूलो क्षति पुगेको छ। चिलिमे आयोजना निर्माणका क्रममा छात्रवृत्ति दिएर पढाएका स्थानीय प्राविधिकहरूसमेत यस विपद्बाट जोगिन नसकेको भन्दै उनले गहिरो दुःख व्यक्त गरे।

भोटेकोशी तथा त्रिशूली करिडोरमा धेरै जलविद्युत् आयोजनाहरू सञ्चालित रहेकाले यो क्षेत्रले विगतमा पनि पटक-पटक विपद् झेल्दै आएको घिसिङले स्मरण गराए। सो करिडोरमा हालसम्म पाँचपटकभन्दा बढी ठूला विपद् आइसकेकाले आगामी दिनमा पूर्वाधार निर्माण गर्दा जोखिम न्यूनीकरण र वातावरणीय सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।