काठमाडौँ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका १ हजार ३८५ जनाको शव फेला परेको छ। गत भदौ १० मा चिनको तिब्बततर्फको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्थित रसुवागढी र टिमुरे क्षेत्रमा सबैभन्दा धेरै भौतिक र मानवीय क्षति गरेको थियो ।
मृत भेटिएका मध्ये अहिलेसम्म जम्मा १०३ जनाको पहिचान खुलेको छ । बाढीमा परेका मृतकहरूको शव सनाखत गर्न सकस भइरहेको बेला टिमुरे क्षेत्रमा भेटिएका ४ शवको पहिचान मोबाइलले खुलाएको छ ।
टिमुरेमा मृत भेटिएका ४ जनाको मुचुल्का गर्दा गोजीमा मोबाइल भेटिएको थियो । सो मोबाइलबाट सिमकार्ड निकालेर परिवारसँग सम्पर्क गर्दा ४ जनाको सनाखत भएको रसुवाका डीएसपी अशोक थापाले बताए । उनले भने, ‘शवसँगै खल्तीमा मोबाइल फेला परेपछि पहिचान गर्न सहज भयो ।’
मोबाइलबाट पहिचान हुनेमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भएका ४० वर्षीय ठाकुर अधिकारी, सोही ठाउँका ४० वर्षीय राम बहादुर भुजेल, धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ घर भएका ३२ वर्षीय बिमल त्रिपाठी र रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका फुर्पु धिन्डुक तामाङ छन् ।
अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘मृतकको सीमकार्ड एक्टिभ गराउनासाथ सिधै आफन्तसँग सम्पर्क भएको थियो ।’ मोबाइलको आधारमा परिवारलाई सम्पर्क गरेर भदौ २२ मा उनीहरूको शव जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए । रसुवामा अहिलेसम्म १ सय ७८ वटा शव भेटिएको छ । तीमध्ये अहिलेसम्म ११ जनाको मात्र सनाखत भएको छ ।
रसुवामा सनाखत भएका शव
१. फुर्पु धिन्डुक तामाङ गोसाईंकुण्ड गाउँपालिका–२, रसुवा
२. ठाकुर अधिकारी, ४० वर्ष, नुवाकोट बेलकोटगढी–५
३. बिमल त्रिपाठी, ३२ वर्ष, धादिङ बेनीघाट रोराङ गापा–५
४. राम बहादुर भुजेल, ४० वर्ष, बेलकोटगढी–५
५. गंगादेवी श्रेष्ठ, उत्तरगया–५ रसुवा
६. पुदुली तामाङ, उत्तरगया–५ खाल्टे
७. जनक आचार्य, उत्तरगया गापा–५ बनुवा, रसुवा
८. बिविराम तामाङ, ३४ वर्ष कालिका गापा–१ रसुवा
९. कुशल खपाङ्गी मगर, २८ वर्ष, गौशाला नपा–१ महोत्तरी
१०. आशविर तामाङ, उत्तरगया–५ खाल्टे
११. आशिष बानियाँ, उत्तरगया–५ बेत्रावती