काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापनाका लागि नेपाल टेलिकमले संस्थागत रूपमा १० करोड रुपैयाँ सहयोग गरेको छ। टेलिकमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।
भदौ २४ गते आयोजित एक विशेष कार्यक्रमका बीच माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकमको चेक माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन्।
रकम हस्तान्तरण कार्यक्रममा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल तथा प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीको समेत उपस्थिति रहेको थियो।
यसअघि पनि नेपाल टेलिकमका कर्मचारीहरूका तर्फबाट संकलन गरिएको २ करोड २ लाख २६ हजार ६६ रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकिएको छ। साथै, बाढीलगत्तै टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीका लागि करिब ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डेटा र एसएमएस सेवा उपलब्ध गराएको थियो।
नेपाल टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद् तथा कोभिड महामारीको समयमा देश र नागरिकप्रति समर्पित भई निरन्तर आर्थिक एवम् प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।
विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम राख्दै राहत, उद्धार र पुनस्थापनाका काममा सक्दो सहयोग पुर्याउन कम्पनी सधैँ प्रतिबद्ध रहेको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए। टेलिकमको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत र दीर्घकालीन पुनस्थापनामा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ।