पहिरोले पृथ्वी राजमार्ग एकतर्फी खुल्यो, टोखा-छहरेमा रात्रिकालीन यात्रामा रोक

पहिरोले पृथ्वी राजमार्ग एकतर्फी खुल्यो, टोखा-छहरेमा रात्रिकालीन यात्रामा रोक

काठमाडौं।  अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज (बुधवार) बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई यात्रा गर्दा सतर्क रहन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरी नगरपालिका-२ स्थित चिसापानी खण्ड अहिले एकतर्फी सुचारु भएको छ। यस्तै, पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-१० ज्वाङखोला र गजुरी गाउँपालिका-२ चालिसे खण्डमा खसेको पहिरो हटाई यातायात एकतर्फी खुलाइएको छ।

उता, बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा जोखिम कायमै रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सो क्षेत्रमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी साधन छाडिने प्रहरीले जनाएको छ।

यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा आएको बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित टोखा–छहरे सडक खण्डमा रात्रिकालीन जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बाढी र पहिरोका कारण अन्य धेरै मुख्य राजमार्गहरू प्रभावित भएकाले अर्को सूचना जारी नभएसम्मका लागि लामो दूरीको यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र निस्कन नेपाल प्रहरीले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?