प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा झन्डै १२ अर्ब मौज्दात, अर्थ मन्त्रालयद्वारा आभार व्यक्त

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा झन्डै १२ अर्ब मौज्दात, अर्थ मन्त्रालयद्वारा आभार व्यक्त

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रकम ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते साँझ ५:०० बजेसम्म कोषका नौ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र दुई वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर जमा भएको छ। प्रतिडलर १५०.८८ रुपैयाँका दरले रूपान्तरण गर्दा यो रकम ११ अर्ब ९५ करोड १७ लाख पुगेको हो।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ। यो रकम विपद्अघि कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दातबाहेकको हो। भदौ २३ गते एकै दिन ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर थप सङ्कलन भएको थियो।

प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिन भदौ १६ गते नै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ हस्तान्तरण भइसकेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवारको सहयोगका लागि निरन्तर हात फैलाउने स्वदेश तथा विदेशस्थित सम्पूर्ण नागरिक, सङ्घसंस्था र दाताहरूप्रति अर्थ मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ। साथै, सहयोग गर्न चाहने इच्छुकहरूलाई आधिकारिक पोर्टल donate.gov.np मार्फत मात्र योगदान गर्न मन्त्रालयले अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?