काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा अझै बेपत्ता रहेका नागरिकहरूको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। सोमबार साँझ काठमाडौँको वसन्तपुरमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गरेका हुन्।
कार्यक्रममा बोल्दै घिसिङले बाढी-पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरुङ तथा अन्य जोखिमयुक्त स्थानहरूमा बेपत्ता भएका नागरिकहरूको रातदिन नभनी तदारुकताका साथ खोजी र सकुशल उद्धार गर्न सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
पछिल्लो विपत्तिलाई नेपालकै इतिहासको ठूलो र प्रलयकारी घटनाका रूपमा चित्रण गर्दै अध्यक्ष घिसिङले यसबाट धेरै युवा, इन्जिनियर, प्राविधिक तथा सर्वसाधारणले ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गरे। शोकलाई शक्तिमा बदलेर पीडित परिवारको साथमा उभिनुपर्ने र प्रभावित क्षेत्रको पुनर्निर्माण एवं पुनस्र्थापनामा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
यसैगरी, उनले विपत्तिबाट पाठ सिक्दै आगामी दिनमा पूर्वाधार निर्माण, सडक विस्तार र बस्ती विकास गर्दा प्राकृतिक विपत्तिको जोखिमलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
विस्थापित परिवारको पुनस्र्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि देश-विदेशमा रहेका सबै नेपालीलाई एकजुट हुन अपिल गर्दै उनले प्रभावित करिडोरको दीर्घकालीन विकासका लागि विशेष पहल गर्न सरकारसँग माग गरे।