काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ।
समाजका अध्यक्ष मनिक लामासहितका पदाधिकारीहरूले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई मन्त्रालयमै पुगेर २ लाख १ हजार १०१ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरणका क्रममा उपस्थित बौद्ध लामाहरूले मुलुकलाई वर्तमान महाविपत्ति र संकटबाट जोगाउन मन्त्रोच्चारण गर्दै आशीर्वादसमेत दिएका थिए।
सहयोग रकम बुझ्दै मन्त्री श्रेष्ठले देश कठिन संकटबाट गुज्रिरहेका बेला हातेमालो गरेकोमा समाजलाई धन्यवाद व्यक्त गरे। सरकार र आम नागरिकको एकीकृत प्रयासबाट देश शीघ्र यस संकटबाट बाहिर निस्कने विश्वास उनले व्यक्त गरे।