काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली टोलीसहित राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेकाछन्। अध्यक्ष ओली नेतृत्वको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै बाढीपीडितको अवस्था, उद्धार तथा राहत वितरणबारे जानकारी लिने कार्यक्रम रहेको छ।
पार्टीका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा एमालेले ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति गठन गरेको छ। बाढीबाट प्रभावित नागरिकको उद्धार, तत्काल राहत र दीर्घकालीन पुनस्र्थापनाका लागि एमालेले सरकारको प्रकोप कोषमा १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।