काठमाडौं। अविरल वर्षापछि आएको बाढी र पहिरिएका कारण देशका धेरै मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। नेपाल प्रहरीले अद्यावधिक गरेको विवरणअनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुख सडक खण्डहरू प्रभावित भएका हुन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङस्थित कृष्णभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा ठप्प भएको छ। सोही राजमार्गको परेवा भिरमा साना गाडी र कमेरेभिरमा एकतर्फी मात्रै सञ्चालन भइरहेका छन्। काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरिको चिसापानीमा पहिरोका कारण एकतर्फी मात्रै सवारी चलेका छन्।
काभ्रेस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबँसी खण्डमा रातको समयमा (साँझ ७ देखि बिहान ५ बजेसम्म) गाडी सञ्चालनमा रोक लगाइएको छ भने दिउँसो १० टनसम्मका मालवाहक सवारीलाई मात्र अनुमति दिइएको छ।
यस्तै रसुवाका सबै मुख्य राजमार्ग तथा उत्तरगयाको त्रिशुली मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प छन्। नुवाकोटको पासाङ ल्हामु सडक खण्ड (सिमटार) अवरुद्ध छ भने टोखा–छहरे सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
कर्णाली प्रदेशको मुगु–गमगढी सडक पहिरोका कारण बन्द छ भने लुम्बिनी प्रदेशको रोल्पास्थित सहिदमार्ग, घोराही–थवाङ मार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छन्। सडकको अवस्था अनिश्चित रहेकाले यात्रामा निस्कनुअघि पूर्वजानकारी लिन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।