‘टनेलभित्र नागरिक अझै अलपत्र छन्, तत्काल उद्धार गरियोस्’: ज्ञानेन्द्र शाही

‘टनेलभित्र नागरिक अझै अलपत्र छन्, तत्काल उद्धार गरियोस्’:  ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली क्षेत्रका टनेलभित्र अझै नागरिकहरू अलपत्र अवस्थामा रहेको भन्दै उनीहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले सो क्षेत्रका सातवटा टनेलquarters मध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटामा उद्धार हुन बाँकी रहेको दाबी गरे। सामाजिक सञ्जालमा सबैको उद्धार भइसकेको भन्दै फैलाइएको हल्ला असत्य रहेको उल्लेख गर्दै उनले सेनाले हालसम्म अपर त्रिशूली र लाङटाङ टनेलमा मात्रै उद्धार कार्य सम्पन्न गरेको बताए।

टनेलको मुख पूर्ण रूपमा बन्द नभएको स्पष्ट पार्दै उनले जुम्लाका लालवीर बुढा, रमेश बुढा र रामचन्द्र बुढालगायत छ जना व्यक्ति टनेलको करिब २०० मिटर भित्रबाट जीवितै बाहिर निस्कन सफल भएको उदाहरण पेश गरे। उनले उद्धार कार्यलाई भाषण नभई सरकारको प्रमुख कर्तव्यका रूपमा लिन आग्रह गर्दै जसरी पनि टोली खटाउन अपिल गरे।

हिलो र भग्नावशेष हटाउने मेसिन नभएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै शाहीले देशमा उपलब्ध प्रविधि र मेसिनको खोजी गरी तत्काल उद्धारमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराए। नागरिकको जीवन रक्षाका लागि आवाज उठाउनु सरकारको विरोध नभएको स्पष्ट पार्दै उनले यस्तो माग गर्नु अपराध मानिए पनि आफू जनताका लागि पटक-पटक यस्तो जोखिम मोल्न तयार रहेको बताए।

सांसदहरूसँग सेना, बजेट वा राज्यका अन्य स्रोत-साधन परिचालन गर्ने कार्यकारी अधिकार नहुने भएकाले मन्त्रिपरिषद् नै यसमा प्रत्यक्ष रूपमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

छुटाउनुभयो कि ?