एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकन

एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकन

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ १० गतेको विनाशकारी बाढी र पहिरोबाट अति प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्र पुगेर प्राकृतिक विपद्बाट प्रभावित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका पीडा र गुनासा सुनेका छन्। सो क्षेत्रमा एमालेसम्बद्ध जनवर्गीय सङ्गठनहरू राष्ट्रिय युवा सङ्घ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोलीहरू उद्धार, राहत वितरण र मलबा हटाउने कार्यमा सक्रिय रूपमा खटिएका छन्।

धादिङको अवलोकनपश्चात् अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न बाढीप्रभावित क्षेत्रको समेत निरीक्षण गरे। सो क्रममा उनले बाढी तथा पहिरोबाट भएको भौतिक क्षति, प्रभावित नागरिकको अवस्था, आवासको क्षति र राहत वितरणको वस्तुस्थितिबारे जानकारी लिएका छन्।

भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको यस भीषण बाढीलाई अकल्पनीय विपद्को संज्ञा दिँदै अध्यक्ष ओलीले राष्ट्रिय शोक र सङ्कटको यस घडीमा कसैले पनि राजनीति गर्न नहुनेमा जोड दिए। उनले उद्धार र राहत कार्यलाई अझ तीव्र बनाउन तथा घरबारविहीन भएका स्थानीयलाई तत्काल अस्थायी आवास र राहत सामाग्री उपलब्ध गराउन सरकार र आफ्ना पार्टीका कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन्।