काठमाडौँ । नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो ।
उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव निकालिएको छ । महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुषगरी चारवटा शवलाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ ।
फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेको जनाएको छ । सीमावर्ती भारतीय क्षेत्रहरूमा सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेको छ । बाढीका कारण नदीमा बगेका शव भारतसम्म पुगेका कारण यो अभियान चलाइएको हो ।