उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापन, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी-पहिरोपछि बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका लागि १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो। सोही सङ्कल्पको बुँदा नम्बर १० बमोजिम विपद् व्यवस्थापनलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दीर्घकालीन समाधान खोज्न 'संसदीय समिति' (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने सहमति भएको रास्वपाले जनाएको छ।

विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न उक्त संयन्त्र आवश्यक रहेको ठहर गर्दै रास्वपाले सो प्रक्रियालाई अविलम्ब अगाडि बढाउन बैठक बोलाएको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज (भदौ १६ गते) दिउँसो २:०० बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा उपस्थितिका लागि सम्पूर्ण राजनीतिक दलहरूलाई हार्दिक आमन्त्रण गरिएको छ।