काठमाडौं । चीन सरकारले सीमावर्ती क्षेत्र केरुङ र नेपालतर्फ आएको विनाशकारी बाढीपहिरो प्रभावित क्षेत्रका निम्ति आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्चस्तरीय बैठकपछि यो घोषणा गरिएको चाइना डेलीले जनाएको छ ।
चीनका राष्ट्रपति एवं सीपीसीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सी चिनफिङको अध्यक्षतामा शुक्रबार पार्टीका शीर्ष नेतृत्वको विशेष बैठक बसेको थियो । बैठकमा छिमेकी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन राहत सामग्री र सहयोग पठाउने निर्णय गरिएको हो ।
बैठक दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा बुधबार आएको विनाशकारी बाढीपहिरोपछि सञ्चालित आपत्कालीन खोज, उद्धार तथा राहत कार्यको समीक्षा र थप रणनीति तय गर्न आयोजना गरिएको सीजीटीएनले जनाएको छ ।
बैठकको सुरुआतमा राष्ट्रपति सीसहित चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताले केरुङ सीमानाकामा खसेको पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गरेका थिए ।
राष्ट्रपति सीले बाढीपहिरो प्रभावित क्षेत्रमा जनधनको क्षति न्यूनीकरण गर्न, बेपत्ताहरूको खोजबिनलाई प्राथमिकता दिन र विस्थापितलाई तत्काल गाँस, बास तथा कपासको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
माथिल्लो नदीतटीय क्षेत्रमा बनेको अस्थायी तालका कारण सिर्जित थप जोखिमलाई ध्यानमा राख्दै प्राविधिक अनुगमन बढाउन र नेपाल सरकारसँग भइरहेको संयुक्त उद्धार तथा कूटनीतिक समन्वयलाई अझ प्रभावकारी बनाउन पनि जोड दिइएको जनाइएको छ ।