इलाम। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति गम्भीर आपत्ति जनाउँदै विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका छन्।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई 'अराजकताको पराकाष्ठा' को संज्ञा दिए। पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे।
अध्यक्ष ओलीले पार्टीमाथि बाह्य शक्ति र विरोधीहरूले तीव्र प्रहार गरिरहेको समयमा सिङ्गो पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै यस्तो बेला आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने बताए।
पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया-समोसा खाँदै अध्यक्ष हटाउने र जथाभावी हस्ताक्षर गर्दै हिँड्ने कार्य पार्टीको नीति र विधानविपरीत भएको उनको भनाइ थियो। आगामी केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइने स्पष्ट पार्दै ओलीले सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने कार्य तत्काल रोक्न आग्रह गरे।
सम्बोधनका क्रममा उनले जुनसुकै संस्था वा संगठनमा काम गर्दा त्यसका नियम र अनुशासन मान्नुपर्ने अनिवार्य शर्त रहेको उल्लेख गर्दै पार्टीमा बस्ने हो भने नीति, विधि र अनुशासन पूर्ण रूपमा पालना गर्न निर्देशन दिए। ओलीले कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अगाडि बढ्न आह्वानसमेत गरे।