काठमाडाैं। नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौँ उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ। अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था मिलाएको हो। ग्यास खरिद गर्नका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
ग्यास बिक्री भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारको जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र तोकिएका छन्। निगमले ती निश्चित स्थानहरूमा विभिन्न ग्यास उद्योगहरूका तर्फबाट सिलिन्डर उपलब्ध गराउने जनाएको छ।