वैशाखयता विपद्का घटनामा २१५ जनाको मृत्यु, ४ हजार ६ सयभन्दा बढी घटना दर्ता

वैशाखयता विपद्का घटनामा २१५ जनाको मृत्यु, ४ हजार ६ सयभन्दा बढी घटना दर्ता

काठमाडौँ। गत वैशाख १ गतेदेखि यता भएका विभिन्न विपद्का घटनामा परी देशभर २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल ४ हजार ६ सय ८ वटा विपद्का घटना घटेका छन्। यी घटनाहरूबाट १ हजार ४ सय २२ जना घाइते हुनुका साथै ५ हजार ६ सय ३८ परिवार प्रभावित बनेका छन्।

प्राधिकरणको तथ्याङ्कअनुसार समीक्षा अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। देशभर १ हजार ९० वटा आगलागीका घटना हुँदा २० जनाको मृत्यु र १४६ जना घाइते भएका छन्। त्यसैगरी, सर्पदंशका ८९२ वटा घटनामा ६३ जनाले ज्यान गुमाएका छन् भने ८३७ जना घाइते भएका छन्।

भौगोलिक जटिलताका कारण ८६२ स्थानमा पहिरो जाँदा २४ जनाको मृत्यु, ११ जना बेपत्ता र ३५ जना घाइते भएका छन्। यस्तै २३७ वटा बाढीका घटनामा परि १८ जनाको मृत्यु, ४ जना बेपत्ता र १३ जना घाइते भएका छन् भने भारी वर्षाका कारण थप ४ जनाको ज्यान गएको छ।

प्राकृतिक प्रकोपका अन्य घटनामा ४८० वटा हावाहुरीबाट १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन्। २४६ वटा चट्याङ पर्ने घटनामा २५ जनाको मृत्यु हुनुका साथै १३२ जना घाइते भएका छन्।

यसका साथै जङ्गली जनावरको आक्रमणका २५७ वटा घटनामा परी १८ जनाको मृत्यु र १३६ जना घाइते भएको प्राधिकरणले जनाएको छ। विपद्का कारण देशभर व्यापक मानवीय तथा भौतिक क्षति पुगेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?