मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल

मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल

काठमाडौं। मधेश प्रदेशमा हालै देखिएको आन्दोलन तथा पछिल्लो विकसित अवस्थाका विषयमा गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गर्नुभएको छ।

गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको उक्त बैठकमा मधेश प्रदेशमा देखिएको तनाव, त्यसका पृष्ठभूमि, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्री तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने कदमबारे विस्तृत विचार-विमर्श भएको थियो।

छलफलका क्रममा अधिकांश सांसदहरूले सामाजिक सञ्जालमा सम्प्रेषित भ्रामक र उत्तेजक भिडियोका कारण सर्वसाधारणमा आक्रोश बढेको र यसले आन्दोलन थप चर्कन बल पुर्‍याएको धारणा व्यक्त गर्नुभयो। यस्ता गलत सूचना र उत्तेजक सामग्री नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरू थप सचेत र जिम्मेवार हुनुपर्नेमा सांसदहरूले जोड दिनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका सभापति एवं सांसद तपेश्वर यादवले मधेशको परिस्थिति सहज बनाउन गृहमन्त्री गुरुङले निभाउनुभएको भूमिकाको प्रशंसा गर्दै उहाँकै सक्रियताका कारण वातावरण क्रमशः सामान्य बन्दै गएको बताउनुभयो।

त्यस्तै, रास्वपाकी अर्की सांसद पुनम अग्रवालले सीमा क्षेत्रमा कायम कडाइलाई लचिलो बनाउन प्रस्ताव गर्नुभयो। उहाँले सीमावर्ती क्षेत्रबाट सर्वसाधारणले दैनिक उपभोगका लागि पाँच सयदेखि एक हजार रुपैयाँसम्मका सामान सहजै ल्याउन पाउने वातावरण मिलाउनुपर्ने सुझाव दिनुभयो।

नेपाली कांग्रेसकी सांसद रेखा यादवले पनि मधेशको परिस्थिति सम्बोधनमा गृहमन्त्रीले देखाउनुभएको तदारुकताको सराहना गर्नुभयो। धर्मका नाममा हुने राजनीति र सामाजिक सद्भाव भड्काउने गतिविधिविरुद्ध सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ थियो।

छलफलमा गृहमन्त्री गुरुङले मधेशको अवस्था सामान्य बनाउन सबै राजनीतिक दल र सांसदहरूबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। आगामी दिनमा मधेशमा यस्ता खालका अशान्ति र तनाव दोहोरिन नदिन सबै राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

बैठकमा सहभागी सांसदहरूले मधेशमा सामाजिक तथा धार्मिक सौहार्दता जोगाइराख्न सरकार, जनप्रतिनिधि र राजनीतिक दलहरूबिच निरन्तर समन्वय आवश्यक रहेको निष्कर्ष निकालेका छन्। संवाद, सहकार्य र आपसी समझदारीमार्फत मधेशका समस्या समाधान गर्दै दीर्घकालीन शान्ति कायम राख्ने विषयमा छलफल केन्द्रित रहेको थियो।

छुटाउनुभयो कि ?