ढल्केबर ट्रमा सेन्टर निर्माण प्रक्रिया रोकिँदैन, लहानमा तत्काल ट्रमा युनिट चल्छ: मन्त्री मेहता

ढल्केबर ट्रमा सेन्टर निर्माण प्रक्रिया रोकिँदैन, लहानमा तत्काल ट्रमा युनिट चल्छ: मन्त्री मेहता

काठमाडौं। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको उनले बताएकी हुन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको उनको भनाइ थियो।

लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैङ्कलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले त्यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको उनले बताइन्। लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प नभई नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था भएको उनले उल्लेख गरिन्।

मन्त्री मेहताले एक ठाउँमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको बताउँदै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने सरकारको नीति रहेको स्पष्ट पारिन्। दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाउन र उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुनु नै सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो। ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन र उपलब्ध पूर्वाधारबाट तत्काल सेवा दिने वातावरण बनाउन उनले जनप्रतिनिधि तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिन्।

छुटाउनुभयो कि ?