काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सरकारका उपलब्धि र आफ्ना कामको प्रशंसा आफैँ गरेका छन्。 उनले सामाजिक सञ्जालमार्फत सरकारले हालसम्म गरेका प्रमुख कार्यहरूको विस्तृत व्याख्या गरेका हुन्।
सो क्रममा प्रधानमन्त्री साहले वर्षौँदेखि घाटा, बन्द र व्यवस्थापकीय समस्याले थलिएका सार्वजनिक उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गरे। राष्ट्रिय उद्योगलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन तथा बिक्री बढाउने र आर्थिक रूपमा सबल बनाउने प्रयासबाट केही क्षेत्रमा सकारात्मक परिणाम आउन थालेको उनको भनाइ छ।
सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने उद्देश्यसहित सहजीकरण, समन्वय र कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेको उनले बताए। यस प्रगतिका उदाहरणका रूपमा उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखाना विकास समितिलाई प्रस्तुत गरेका छन्।
औषधि लिमिटेड, हेटौँडा कपडा र वायुसेवा निगमको प्रगति
प्रधानमन्त्री साहका अनुसार वर्षौँसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको 'गुड म्यानुफ्याक्चरिङ प्राक्टिस' मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनले बताए। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
यस्तै, सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको छ।
लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै प्रधानमन्त्रीले परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको बताए। सेनाले मेसिनको मर्मतसम्भार र प्राविधिक अध्ययन अध्ययन गरी उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएको छ।
यसैगरी, नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा पनि सुधार आएको दाबी गर्दै प्रधानमन्त्रीले गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गरे।
किसानको बक्यौता भुक्तानी र वैद्यखानाको कारोबार
दुग्ध विकास संस्थानमा लामो समयदेखि समस्याका रूपमा रहेको किसानको दुधको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको छ। किसानलाई भुक्तानी गर्ने चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको छ।
करीब ३२ करोड रुपैयाँको बक्यौता रहेको अवस्थामा हालको भुक्तानी चक्रलाई करीब ३५ करोड रुपैयाँमा सीमित गरिएको दाबी गरिएको छ। कानुनविपरीत कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दुधको सुविधा कटौती गरेर वार्षिक करीब ३ करोड रुपैयाँ बचत गरिएको पनि उनले बताए।
सिंहदरबार वैद्यखाना विकास समितिमा पनि उत्पादन तथा कारोबार बढेको प्रधानमन्त्रीको भनाइ छ। सरकार गठन भएयता ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको र गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करीब १३ करोड रुपैयाँ पुगेको उनले दाबी गरेका छन्।